जनदबाबले दशैंभत्ता खोसिएपछि आत्तिए यी कम्युनिस्ट सांसद ! कर्मचारी र पत्रकारविरुद्ध आक्रोश

काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीका बेला सांसदहरूले दशैंभत्ता लिएको भनेर आलोचना भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सबै सांसदको भत्ता कोरोना उपचार कोषमा जम्मा गर्ने निर्णय गरेपछि कतिपय नेकपा सांसद आत्तिएका छन् ।

पूर्व मन्त्री तथा नेकपा सांसद लालबाबु पण्डितले सांसदहरूको चाडपर्व भत्ता कटौती गर्नु राम्रो नहुने प्रतिक्रिया सञ्चारमाध्यमलाई दिनुभएको छ ।

सांसदको भत्ता कटौती गर्ने भए सरकारी सुविधा लिने कर्मचारी लगायत सबैको भत्ता कटौती गर्नुपर्ने उहाँको माग छ । ‘सरकारी सेवासुविधा लिने, सरकारी कोषबाट तलबभत्ता खाने कर्मचारी, पत्रकार अन्य राष्ट्रसेवक जो–जो छन्, सबैको कटौती गरौं र कोरोना कोषमा हालौं । यो निर्णयमा सबै सहमत हुन्छन् भने म सबैभन्दा अगाडि हुन्छु,’ पण्डितले भन्नुभयो ।

तर सांसदको मात्रै दशैंभत्ता काट्ने विषय आफूलाई मान्य नहुने उहाँले बताउनुभयो । ‘सरकारी सेवासुविधा लिने जति छन्, सबैले पाउने, निजी उद्योगधन्दाले दशैंभत्ता दिने, जनप्रतिनिधिलाई किन नदिने ?’ पूर्वमन्त्री पण्डितले प्रश्न गर्नुभयो, ‘जनप्रतिनिधि अपराधी हुने, अरु निरपराधी हुने ?’

सरकारी निर्णयको आधारमा दशैंका बेला संसद सचिवालयले सांसदहरूको बैंक खातामा भत्ता पठाएको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो । भत्ता पठाउने कदमको कांग्रेसले विरोध गर्दै सुरुमै भत्ता फिर्ता गर्ने संस्थागत निर्णय गरेको थियो । त्यसपछि नेकपाले समेत भत्ता फिर्ताको निर्णय गरिसकेको छ । यसरी भत्ता खोसिएपछि सांसद पण्डित आत्तिएका छन् ।

Loading...