नेकपा सरकारको चाला : मन्दिर बन्द गराउन कडा निर्देशन तर चर्चमा भीडभाड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि भन्दै मठमन्दिर खुला नगर्ने निर्णय गरेको छ ।

हिन्दू धर्मावलम्बीका चाडपर्व नजिकिँदा गृह मन्त्रालयले देशैभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिँदै मन्दिर सञ्चालनमा रोक लगाउन कडा निर्देशन पठाउँछ । तर क्रिस्चियन धर्मावलम्बीले प्रार्थना गर्ने चर्च भने निर्वाध रूपमा सञ्चालन भइरहेको पाइएको छ ।

सरकारी निर्देशन अनुसार नै जिल्ला प्रशासन कार्यालय गोरखाले मठमन्दिर बन्द गराएको छ । गोरखामा चर्च तथा सच्चाइ भने निर्वाध रूपमा सञ्चालन भइरहेका छन् । जिल्लाका ११ वटै स्थानीय तहमा हरेक शनिवार चर्च निरन्तर रूपमा चलिरहेका विश्वासीहरूले जनाएका छन् ।

चर्च मात्रै होइन, राजनीतिक दल र नेताहरू सहभागी हुने पार्टी प्रवेश, उद्घाटन, शिलान्यास लगायत कार्यक्रम समेत देशका विभिन्न ठाउँमा निर्वाध रूपमा भइरहेका छन् । तर हिन्दू धर्मावलम्बीले पूजाआजा गर्ने मन्दिर प्रवेशमा सरकारले कडा रोक लगाएको छ, बहाना बनेको छ कोरोना । चर्च र नेता सहभागी हुने कार्यक्रमलाई भने कोेरोनाले समेत छेकेको छैन ।

लकडाउनभन्दा केही अघिदेखि सञ्चालन भएको पालुङटार नगरपालिका–९ सिस्नेरीको सच्चाइ चलिरहेको सच्चाइका सदस्य टेकबहादुर सुनारीले बताउनुभयो । ‘हाम्रो सच्चाइ लकडाउनभन्दा केही अघिदेखि सञ्चालन भएको हो,’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म निरन्तर चलिरहेको छ ।’ ३५–४० जनासम्म विश्वासी सच्चाइमा भेला हुने उहाँले बताउनुभयो ।

सबैभन्दा धेरै गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा सच्चाइ तथा चर्च सञ्चालनमा छन् । पालिकाका एउटै वडामा ३ वटाभन्दा धेरै ठाउँमा सच्चाइ सञ्चालनमा रहेका विश्वासीहरूले जनाएका छन् । सिरानचोक गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, आरुघाट गाउँपालिका, गण्डकी गाउँपालिकाका सबै वडामा सच्चाइ सञ्चालनमा रहेका छन् ।

कोरोनाको संक्रमण न्यूनीकरण तथा रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले हिन्दू र बुद्ध धर्मावलम्बीका मठमन्दिर बन्द गर्न बारम्बार सूचना जारी गर्ने गरेको छ । गोरखाको सबैभन्दा ठूला गोरखकाली, गोरखनाथ र मनकामना मन्दिर गत चैतदेखि नै बन्द गराइएको छ । आईतबार पुनः सूचना प्रकाशित गरेर दुवै मन्दिर कडाइका साथ बन्द गर्न जिल्ला प्रशासन कार्यालय गोरखाले फेरि सूचना जारी गरेको छ ।

‘जिल्लाका ३ ठूला गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा सर्वसाधारणको प्रवेशमा निषेध गर्नू गराउनू,’ सीडीओ तीर्थराज भट्टराईले जारी गर्नुभएको सूचनामा उल्लेख छ । चर्च र सच्चाइ सञ्चालनमा रहेकोबारे आफूलाई जानकारी नभएको सहायक सीडीओ देवी पाण्डे खत्रीले बताउनुभयो ।

Loading...